Tuesday, January 17, 2017

के हो नेपाल ?

नेपालको, आधिकारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । नेपाल दक्षिण एशियाली भूपरिवेष्ठित राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ । नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो ।
नेपालको राजधानी काठमाडौं हो । । काठमाडौं, ललितपुर र भक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख शहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर रहेका छन्र । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो । निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो । तर २०५२ सालपिछ माओवादीहरूले राजनैतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक जनाअन्दोलन-२ पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यसबाहेक नेपालमा लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, मारवाडी, डोटेली आदि भाषा पनि बोलिन्छन् । भाषाविज्ञानको आधारमा हेर्दा नेपाली भाषाको उत्पति भारोपेली भाषा परिवारका शतम् शाखाबाट विकसित आर्य-इरानी शाखाको आर्यली हाँगो संस्कृतबाट विकसित भएको हो । विभिन्न विद्वानहरूको संस्कृतको उत्तराधिकारी विभिन्न प्राकृतहरूमध्येमा शौरसेनी प्राकृत वा खस अपभ्रंशबाट कर्णालीको सिँजा प्रदेशमा एघारौं शताब्दीदेखि नेपाली भाषा जन्मेको हो भन्ने मत देखिन्छ ।

No comments:

Post a Comment